You are viewing the translated version of मालवस्तुको वर्गीकरण तथा महसुल निर्धारण.

Section 22
मालवस्तुको वर्गीकरण तथा महसुल निर्धारण
(१) दफा २१ बमोजिम भन्सार मूल्य निर्धारण भएपछि भन्सार अधिकृतले घोषित मालवस्तु नभएको जाँच गर्नु पर्नेछ । त्यसरी जाँच गर्दा भन्सार अधिकृतले दफा ६१क. को उपदफा (३) मा उल्लिखित विषयलाई समेत आधार लिई वर्गीकरण ढीक भए वा नभएको यकिन गर्नेछ ।

(२) उपदफा (१) बमोजिम मालवस्तुको वर्गीकरण जाँच गर्दा ठीक पाइएमा भन्सार अधिकृतले त्यस्तो मालवस्तुमा लाग्ने महसुल निर्धारण गर्नेछ ।

(३) उपदफा (१) बमोजिम जाँच गर्दा मालवस्तुको वर्गीकरण ठीक नभएको पाइएमा भन्सार अधिकृतले घोषणाकर्तालाई जानकारी गराई वर्गीकरण 'उपशीर्षक संशोधन गरी सोही बमोजिम लाग्ने महसुल निर्धारण गर्नेछ ।

(४) उपदफा (३) बमोजिम भन्सार अधिकृतले गरेको संशोधनमा चित्त नबुझ्ने पैठारीकर्ताले दफा ६१क. बमोजिम पुनरावलोकनको लागि महानिर्देशक समक्ष निवेदन दिन सक्नेछ । त्यसरी निवेदन दिनुअघि भन्सार अधिकृतले निर्धारण गरेको महसुल भुक्तान गरी मालवस्तु छुटाउनु पर्नेछ ।

(५) पैठारीकर्ताले उपदफा (४) बमोजिम महसुल भुक्तान गर्दा वस्तु वर्गीकरणको अन्तिम निर्णय हुँदा ठहरे बमोजिम हुने गरी पूर्ण वा आंशिक रूपमा धरौटीमा राख्न भन्सार अधिकृत समक्ष निवेदन दिन सक्नेछ । त्यसरी निवेदन दिएमा भन्सार अधिकृतले सोही बमोजिम धरौटी राखी मालवस्तु जाँचपास गर्न सक्नेछ ।

(६) उपदफा (१) बमोजिम मालवस्तुको वर्गीकरण यकिन गर्न भन्सार अधिकृतलाई द्विविधा भएमा द्विविधा हुनुपर्ने कारण र आफ्नो राय तथा मालवस्तुको नमूना सहित महानिर्देशक समक्ष निर्णयको लागि लेखी पठाउनु पर्नेछ ।

(७) उपदफा (६) बमोजिम लेखी आएमा महानिर्देशकले वर्गीकरण उपशीर्षक तोक्ने निर्णय गरी सोको जानकारी भन्सार अधिकृतलाई गराउनु पर्नेछ । भन्सार अधिकृतले पनि सोही बमोजिम मालवस्तुको वर्गीकरण तथा महसुल निर्धारण गरी मालवस्तु जाँचपास गर्नेछ ।